दफा
नीतिहरू

८. नीतिहरू

पर्यटन विकासका नीतिहरू देहाय बमोजिम हुनेछन्ः–

(क) पर्यटन उद्योगको विकास एवं विस्तारको लागि क्षेत्रगत विकासका अवधारणा सहित गुरु योजना तर्जुमा गरी त्यसलाई आवधिक योजना तथा वार्षिक कार्यक्रममा समावेश गरी प्रबद्र्धन गरिने छ ।
(ख) ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाइनेछ । मुलुकको विकास प्रक्रियामा समेट्न नसकिएका महिला, मधेशी, आदिवासीजनजाती लगायतका विपन्न समूह समेतमा पर्यटन व्यवसायबाट प्राप्त लाभको बाँडफाँड गर्न समावेसी र सहकारीको माध्यमबाट उपयुक्त संरचनाको निर्माण र विकास गरिनेछ ।
(ग) आन्तरिक पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाइनेछ ।
(घ) पर्यटन उद्योगले उपलब्ध गराउने सेवाको प्रकृतिका आधारमा पर्यटन उद्योगलाई विशिष्टीकृत रूपमा विभाजन गरिनेछ र पर्यटन उद्योगले उपलब्ध गराउने सेवाको क्षमताको आधारमा ठूला, मझौला र साना उद्योगमा वर्गीकरण गरिनेछ ।
(ङ) ठूला प्रकृतिका पर्यटन उद्योगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता मार्फत सार्वजनिक तथा निजी साझेदारीमा र मझौला र साना प्रकृतिका पर्यटन  उद्योगमा राष्ट्रिय लगानीकर्तालाई प्राथमिकताको आधारमा लगानी खुला गरिनेछ । पर्यटन पूर्वाधार विकासको लागि निर्माण, स्वामित्व, संचालन र हस्तान्तरण सम्बन्धी कानुनी अवधारणा र प्रक्रिया ९द्यइइत्० मोडेलमा सञ्चालन गरिनेछ ।
(च) पर्यटन क्षेत्रको पूर्वाधार विकासमा अहं भूमिका खेल्ने हवाई सेवालाई सुरक्षित
नियमित र भरपर्दो बनाइने छ ।
(छ) पर्यटन क्षेत्रको विकासमा सरकारको भूमिका ठूला पूर्वाधार निर्माण र पर्यटन सेवा वा वस्तुको विकास एवं विस्तारमा सहजकर्ता, नियमनकर्ता, समन्वयकर्ता र उत्प्रेरकको रूपमा रहने गरी यस क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई प्रोत्साहन गरिने छ ।
(ज) पर्यटन सेवाको संख्यात्मक तथा गुणात्मक अभिवृद्धिकालागि मानव संसाधनको विकास तथा व्यवस्थापन, गुरुयोजना तर्जुमा र कार्यान्वयन, तथ्याङ्क संकलन र प्रयोग जस्ता कार्यक्रम निजी क्षेत्रसंगको समन्वयमा संचालन गरिनेछ ।
(झ) पर्यटकीय पूर्वाधारको विकास, निर्माण र संचालनमा वातावरण संरक्षणको पक्षलाई प्राथमिकता दिई कार्यान्वयन पक्षलाई प्रभावकारी बनाईनेछ ।
(ञ) पर्यटकीय व्यवसायको बजारीकरण गर्न आधुनिक सूचना प्रविधिको उपयोग गरिने
छ ।
(ट) पर्यटकहरूको सुविधा तथा सुरक्षाकालागि आवश्यक प्रवन्ध मिलाईनेछ ।
(ठ) पर्यटन उद्योगलाई आधारभूत उद्योगका रूपमा स्थापना गर्न विविध प्रकारका सुविधा तथा सहुलियतहरू प्रदान गरिनेछ ।
(ड) पर्यटन उद्योगमा संलग्न उद्यमी तथा श्रमिक बीचको सम्बन्ध सुमधुर बनाइनेछ ।
(ढ) पर्यटनको विकास, विस्तार, प्रबद्र्धन र समन्वयकालागि पर्यटनसँग सम्बन्धित कानुनी, संस्थागत र प्रक्रियागत व्यवस्थामा सुधार गरिनेछ ।
(ण) पर्यटन व्यवसायसँग सम्बन्धित विविध गतिविधिको सञ्चालन र यसका पूर्वाधारको विकास, निर्माण तथा विस्तारमा सम्बन्धित मन्त्रालय वा निकायहरूसँग समन्वय गरी एकीकृत रूपमा कार्यक्रम सञ्चालन गरिने छ ।
(त) पर्यटन नीतिको प्रभावकारी कार्यान्वयनकालागि अन्तर मन्त्रालय र सम्बद्ध निकाय बीच समन्वय कायम गर्न उच्चस्तरीय पर्यटन परिषद् र पर्यटन विकास समन्वय समिति गठन गरिनेछ ।