दफा १६
लेखापरीक्षण
(१) लेखा परीक्षकको नियुक्ति वार्षिक साधारण सभाले गर्नेछ र निजको पारिश्रमिक सोही सभाले तोकिदिए बमोजिम हुनेछ । त्यस्तो लेखा परीक्षकले नेपाल कानुनबमोजिम लेखापरीक्षण गर्न इजाजत प्राप्त गरेको हुनु पर्छ ।
तर, पहिलो वार्षिक साधारण सभा नभएसम्मको लेखा परीक्षण नेपाल सरकारबाट खटाएको लेखा परीक्षकले गर्नेछ ।
(२) लेखा परीक्षकले संस्थानको जुनसुकै हिसाब र कागजात हेर्न जाँच्न सक्नेछ र सो काममा सहयोग गर्नु संस्थानका सम्बन्धित सबै कर्मचारीको कर्तव्य हुनेछ ।
(३) लेखा परीक्षकले आफूले गरेको लेखा परीक्षणको प्रतिवेदनको एक प्रतिलिपि नेपाल सरकारमा र अर्को प्रतिलिपि संस्थानको साधारण सभामा पेश गर्नेछ र त्यस्तो प्रतिवेदनमा देहायका कुराहरू स्पष्ट उल्लेख भएकोे हुनु पर्र्छः–
(क) संस्थानको वास्तविक आर्थिक स्थिति देखिने गरी सबै आवश्यक कुराहरू स्पष्ट खुलाई ठीक तथा रीतपूर्वक वार्षिक हिसाब तथा लाभ हानीको खाता तयार गरिएको छ छैन ।
(ख) मागिएको कुनै स्पष्टीकरण वा सूचना संस्थानले दिएको छ छैन र दिएको भए सो सन्तोषजनक छ छैन ।
(४) उपदफा (३) बमोजिम प्राप्त प्रतिवेदनको आधारमा साधारण सभाको राय लिई आवश्यक सुधार वा व्यवस्थाको लागि नेपाल सरकारले संस्थानलाई निर्देशन दिन सक्नेछ ।