दफा १६
लेखापरीक्षण
(१) महालेखा नियन्त्रक कार्यालयले तोकिए बमोजिम आन्तरिक लेखापरीक्षण गर्ने, गराउनेछ ।
(२) प्रत्येक कार्यालयले सबै प्रकारका आय–व्ययको तोकिए बमोजिमको लेखा र आर्थिक विवरण पेश गरी महालेखा परीक्षकको विभागबाट अन्तिम लेखापरीक्षण गराउनु पर्नेछ ।
(३) आन्तरिक लेखापरीक्षण वा अन्तिम लेखापरीक्षण हुँदा सरकारी नगदी वा जिन्सी मालसामानको लगत छुट गरेको देखिएमा वा सो लगत कुनै परिबन्दबाट गोलमाल भई नेपाल सरकारको हानी नोक्सानी भएको देखिएमा त्यसको सूचना प्राप्त हुनासाथ सम्बन्धित कार्यालय प्रमुख वा विभागीय प्रमुखले त्यस्तो हानी नोक्सानी भएको रकम असुल गरी कसूरको मात्रा अनुसार विभागीय कारबाही समेत गर्नुपर्नेछ ।
(४) उपदफा (३) बमोजिम सूचना प्राप्त भएपछि पनि कारबाही नगर्ने अधिकारीलाई संवैधानिक अंग तथा निकायको हकमा सम्बन्धित संवैधानिक अंग तथा निकायको प्रमुख, मन्त्रालय तथा केन्द्रीय स्तरको सचिवालय तथा आयोगको हकमा सम्बन्धित मन्त्रालयको विभागीय मन्त्री वा राज्यमन्त्री, विभाग वा विभाग सरहको अस्तित्व र क्षेत्राधिकार भएको कार्यालयको हकमा सम्बन्धित मन्त्रालयको सचिव र कार्यालयको हकमा सम्बन्धित तालुक कार्यालयको प्रमुखले प्रत्येक कलममा पचास रूपैयाँसम्म जरिवाना गर्नेछ ।
(५) उपदफा (२) बमोजिम लेखा तथा आर्थिक विवरण पेश नगर्ने संवैधानिक अंग तथा निकायको लेखा उत्तरदायी अधिकृतलाई सम्बन्धित संवैधानिक अंग तथा निकायका प्रमुखले, मन्त्रालय तथा केन्द्रीय स्तरको सचिवालय तथा आयोगको लेखा उत्तरदायी अधिकृतलाई सम्बन्धित विभागीय मन्त्री वा राज्यमन्त्रीले र अन्यको हकमा लेखा उत्तरदायी अधिकृतले प्रत्येक कलममा पच्चीस रूपैयाँसम्म जरिवाना गर्नेछ ।
(६) उपदफा (५) बमोजिम जरिवाना गर्दा पनि लेखा तथा आर्थिक विवरण दाखिला नगरेमा प्रचलित कानुन बमोजिम कारबाही समेत गर्न सकिनेछ ।