नियम २९
विभाजन
(१) नियम २८ को उपनियम (२) बमोजिम सभामुखको घोषणाप्रति कम्तीमा अठ्ठाइसजना सदस्यले आ–आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले “हुन्छ”, “हुन्न” र “मत दिन्न” भन्ने सदस्यलाई देहाय बमोजिमको कुनै तरिकाले विभाजन गरी मत सङ्कलन गर्नेछ ः-
(क) प्रत्येक सदस्यलाई “हुन्छ”, “हुन्न” र “मत दिन्न” भन्ने शब्द उच्चारण गर्न लगाई, वा
(ख) “हुन्छ”, “हुन्न” र “मत दिन्न” भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लवी) मा प्रवेश गराई वर्णानुक्रमानुसारको नामावलीमा दस्तखत गराएर, वा
(ग) स्वचालित मत अभिलेखयन्त्र सञ्चालन गरेर ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सभामुखलाई विभाजनको माग अनावश्यक लागेमा “हुन्छ”, “हुन्न” र “मत दिन्न” भन्ने सदस्यलाई विभाजनको आदेश दिनुभन्दा पहिले आ–आफ्नो स्थानमा क्रमशः उठ्न लगाई सङ्ख्या गणना गरी सभाको निर्णय
निश्चय गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम मत सङ्कलन गर्न स्वचालित मत अभिलेखयन्त्र प्रयोग भएकोमा,–
(क) कुनै सदस्य कुनै कारणवश सो यन्त्र सञ्चालन गर्न असमर्थ छ भन्ने सभामुखलाई लागेमा निर्णय सुनाउनु अघि निजसँग सोधेर पनि मत गणना गर्न सक्नेछ ।
(ख) कुनै सदस्यले स्वचालित मत अभिलेखयन्त्रको गलत बिन्दु थिचेको कारणले वा मत विभाजनद्वारा मत गणना गर्दा गलत मतदान हुन
गएमा निर्णय सुनाउनु अघि सभामुखको ध्यान आकर्षित गरी आफ्नो मत सच्याउन सक्नेछ ।
(४) उपनियम (१) वा (२) बमोजिम सङ्कलित मतगणनाको परिणाम सभामुखले तत्काल सुनाउनेछ र त्यसप्रति कसैले पनि असहमति प्रकट गर्न पाउने छैन ।
(५) कुनै प्रस्तावलाई खण्ड खण्ड गरी एकभन्दा बढी प्रश्नको रूपमा निर्णयार्थ राख्न सक्ने अधिकार सभामुखलाई हुनेछ । मत सङ्कलक तोक्ने र दस्तखत सहितको मत विभाजनको अन्य कार्यविधि निर्धारण गर्ने अधिकार सभामुखलाई हुनेछ ।