दफा २८
भाडा असुल गर्ने
(१) टिकट जाँचकीले देहायको अवस्थामा रेलबाट यात्रा गर्ने व्यक्तिसँग भाडा बापत देहाय बमोजिमको रकम र टिकट वा अधिकारपत्र नलिए बापत लाग्ने भाडा बराबरको थप रकम तत्काल असुल गर्नेछः-

(क) कुनै व्यक्तिले टिकट वा अधिकारपत्र नलिई वा प्रयोग भइसकेको टिकट वा अधिकारपत्र प्रयोग गरी यात्रा गरेको देखिएमा निजले यात्रा प्रारम्भ गरेको ठाउँदेखि निजको गन्तव्यसम्मको लाग्ने भाडा, (ख) कुनै व्यक्तिले टिकट वा अधिकारपत्रमा उल्लिखित श्रेणीभन्दा माथिल्लो श्रेणीमा यात्रा गरेको देखिएमा निजले तिर्नु पर्ने वास्तविक भाडामध्ये निजले तिरेको वा अधिकारपत्र-बमोजिम सुविधा पाएको भाडा कटाई बाँकी भाडा।

(२) उपदफा (१) बमोजिम पूरा .रकम नबुझाउने वा बुझाउन इन्कार गर्ने यात्रुलाई टिकट जाँचकीले जुनसुकै बखत रेल्वे स्टेशनमा रेलबाट ओराल्न सक्नेछ।

(३) उपदफा (२) बमोजिम रेल्वे स्टेशनमा ओरालिएको यात्रीलाई टिकट जाँचकीले सुरक्षाकर्मीको जिम्मा लगाई सोको लिखित जानकारी स्टेशन प्रमुखलाई दिनु पर्नेछ।

(४) उपदफा (३) बमोजिम प्राप्त भएको लिखित जानकारी जाँचबुझ गर्दा मनासिब देखिएमा स्टेशन प्रमुखले भाडा नतिर्ने यात्रीलाई भाडा: तथा सो बराबरको थप रकम बुझाउन आदेश गरी भाडा /रकमको पाँच गुणा रकम जरिबाना गर्न सक्नेछ।

(५) उपदफा (४) बमोजिम स्टेशन प्रमुखले गरेको जरिबानामा चित्त नबुझ्ने व्यक्तिले सो निर्णय भएको मितिले पैँतीस दिनभित्र रेल्वे प्रशासक समक्ष उजुरी दिन सक्नेछ।

(६) -उपदफा (५) बमोजिम परेको उजुरीमा रेल्वे प्रशासकले गरेको निर्णय अन्तिम हुनेछ।