नियम ८६
सन्ततिवृत्ति र शैक्षिकवृत्ति

(१) कुनै सैनिक व्यक्तिको नियम ८३ को उपनियम (६) र (७) वा नियम ८५ बमोजिमको अवस्था परी मृत्यु भएमा वा अशक्त भएमा त्यस्तो मृतक वा अशक्त सैनिक व्यक्तिको बढीमा दुई सन्ततीलाई मृतक वा अशक्त सैनिक व्यक्तिको बहाल रहेको पदको शुरु तलब स्केलको देहाय बमोजिमको प्रतिशतका दरले मासिक सन्ततिवृत्ति दिइनेछ ः–
(क) सहायक सेनानी र सोभन्दा माथि महारथीसम्म – दश प्रतिशत
(ख) जमदार र सोभन्दा माथि प्रमुख सुवेदारसम्म – बाह्र प्रतिशत
(ग) प्यूठ र सोभन्दा माथि हुद्दासम्म – तेह्र प्रतिशत
(घ) फलोअर्स र सिपाही – चौध प्रतिशत
(२) उपनियम (१) बमोजिमको वृत्ति छोरा भए एक्काईस वर्षको उमेर पूरा गरेमा वा सरकारी सेवा प्रवेश गरको जुन अगाडि हुन्छ सो मितिसम्म र छोरी भए एक्काईस वर्षको उमेर पूरा गरेको वा विवाह गरेको वा सरकारी सेवा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म पाउनेछ ।
(३) कुनै सैनिक व्यक्तिको नियम ८३ को उपनियम (६) र (७) वा नियम ८५ बमोजिमको अवस्था परी मृत्यु भएमा वा अशक्त भएमा त्यस्तो मृतक वा अशक्त सैनिक व्यक्तिको बढीमा दुई सन्ततिलाई अठार वर्षको उमेर पूरा नभएसम्म उपनियम (१) बमोजिमको सन्ततिवृत्तिको अतिरिक्त देहाय बमोजिमको दरले वार्षिक शैक्षिकवृत्ति समेत दिइनेछ ः–
(क) सहायक सेनानी र सोभन्दा माथि महारथीसम्म –दुई हजार चार सय
(ख) फलोअर्स र सोभन्दा माथि प्रमुख सुवेदारसम्म –एक हजार आठ सय