५. रणनीति
५.१. विज्ञान तथा प्रविधिको अल्पकालीन तथा दीर्घकालीन अवधारणा तयार गरी सो को आधारमा योजना तर्जुमा, कार्यान्वयन तथा मूल्यांकनको प्रभावकारी व्यवस्था गरिनेछ ।
५.२. विद्यमान स्रोत एवं साधनको अधिकतम उपयोग गर्दै कृषि, वन, जलस्रोत, शिक्षा, स्वास्थ्य, उद्योग, वातावरण, सूचना प्रविधि, इन्जिनियरिङ्ग, जैविक प्रविधि, अन्तरिक्ष प्रविधि, परमाणु विज्ञान, खगोल विज्ञान आदि विविध क्षेत्रमा हुने अध्ययन, अनुसन्धान तथा विकास र प्रशिक्षण कार्यहरू समन्वयात्मक एवं प्रभावकारी रूपबाट सञचालन गरिनेछ ।
५.३. भौतिक, मानवीय तथा प्राज्ञिक पक्षको सृजनात्मक रूपले संस्थागत विकासका माध्यमद्वारा क्षमता अभिवृद्धि गरिनेछ ।
५.४. विज्ञान तथा प्रविधि क्षेत्रको विकासको लागि भौतिक पूर्वाधार तथा संरचनाहरू निर्माण गरी सोको अधिकतम उपयोग गर्ने र वैज्ञानिकहरूको उच्चमनोवल बढाउन आवश्यक व्यवस्था मिलाइनेछ ।
५.५. सरकारले प्रत्येक वर्ष विज्ञान तथा प्रविधि क्षेत्रमा सम्बन्धित निकायहरूबाट अनुसन्धान तथा विकास कार्यको लागि कार्यक्रम बनाउन लगाइ सोको आधारमा रकम छुट्याउने व्यवस्था गर्नेछ ।
५.६ स्थानीयतहसम्म स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गर्न आवश्यक प्रविधिको विकास कार्यमा सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र तथा शैक्षिक संस्थालाई सरिक गराइनेछ ।
५.७ आवश्यकता अनुसार परम्परागत, स्वदेशी तथा विदेशी प्रविधिको समायोजन तथा सुधारद्वारा उपयुक्त प्रविधिको विकास गरी मुलुकलाई आवश्यक पर्ने प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउने तर्फ आवश्यक काम गरिनेछ ।
५.८ विज्ञान तथा प्रविधि क्षेत्रमा द्विपक्षीय र बहुपक्षीय सहयोग सम्झौता गरी मुलुकको वैज्ञानिक तथा प्राविधिक क्षमता अभिवृद्धि गर्न विशेष पहल गरिनेछ ।