दफा ५८८
आफ्नो हक नपुग्ने वस्तु धितो वा धरौट राखेमा हुने परिणामः

(१) कसैले आफ्नो हक र स्वामित्वमा नभएको वा यस भाग बमोजिम बदर हुने करार अन्तर्गत प्राप्त गरेको वस्तु कसैलाई धितो वा धरौट दिई ऋण वा काम पाएको रहेछ र त्यस्तो कुरा धितो वा धरौट लिने व्यक्तिलाई थाहा रहेनछ भने त्यसरी धितो वा धरौट लिने व्यक्तिले धितो वा धरौट दिने व्यक्तिसँग त्यस बराबरको निजको हक लाग्ने वस्तु धितो वा धरौट माग गर्न सक्नेछ र त्यस बमोजिम माग गरेको धितो वा धरौट दिन नसकेमा धितो वा धरौट लिने व्यक्तिले त्यस्तो करार बदर गराउन सक्नेछ ।
(२) यस भाग बमोजिम बदर हुने करार अन्तर्गत प्राप्त भएको वस्तु धितो वा धरौट रहेकोमा त्यस्तो धितो वा धरौट दिनु अगावै त्यस्तो करार बदर भैसकेको रहेछ वा धितो वा धरौट दिइएको वस्तु धितो वा धरौट दिने व्यक्तिको होइन भन्ने कुरा धितो वा धरौट लिनेलाई थाहा भएको रहेछ भने त्यस्तो वस्तुमा धितो वा धरौट लिनेको कुनै अधिकार हुने छैन र निजले असूल गर्नु पर्ने रकम वा पूरा गराउनु पर्ने काम धितो वा धरौट दिने व्यक्तिको अन्य सम्पत्तिबाट भराई लिन वा असूल गराउन पाउनेछ ।
(३) धितो वा धरौट राखिएको वस्तुमा धितो वा धरौट दिने व्यक्तिको आंशिक वा सीमित हक वा स्वामित्व रहेछ भने त्यस्तो वस्तुमा धितो वा धरौट लिने व्यक्तिको पनि सोही हदसम्म मात्र हक अधिकार हुनेछ ।