नियम ७१
कबुलियती वनको संरक्षण
(१) नियम ६९ बमोजिम कबुलियती वन: उपलव्ध गराउँदाका बखत त्यसमा रहेका रुखको स्वामित्व नेपाल सरकारको हुनेछ। कबुलियती वन लिने सङ्गठित संस्थाले त्यस्ता रुख बिरुवा लगायत कबुलियती वनको संरक्षणको उचित व्यवस्था गर्नु पर्नेछ। (२) कबुलियती वन उपलब्ध गराउँदाका बखत त्यसमा रहेका रुख बिरुवाको सर्वेक्षण तथा मूल्याङ्कन गरी सोको बढीमा बीस प्रतिशतसम्मको रकम कबुलियती वन लिने सङ्गठित संस्थाबाट धरौटी लिनु पर्नेछ।

(३) कबुलियती वन लिने सङ्गठित संस्थाले कबुलियती वनको संरक्षणको लागि कुनै सहयोग माग गरेमा डिभिजन वन कार्यालयले आवश्यक सहयोग उपलव्ध गराउन र अन्य निकाय समक्ष सहयोगका लागि सिफारिस गर्न सक्नेछ ।

(४) कबुलियती वन उपलब्ध गराउँदाका बखत त्यसमा रहेका रुख ढलेमा सङ्गठित संस्थाले डिभिजन वन कार्यालयलाई जानकारी गराउनु पर्नेछ। यसरी रुख ढलेको जानकारी प्राप्त भएमा डिभिजन वन कार्यालयले त्यस्ता रुख यस नियमावली बमोजिम सङ्कलन गर्नु पर्नेछ।

(५) कबुलियती वन उपलब्ध गराउँदाका बखत त्यसमा रहेका रुख कबुलियती वनको स्वीकृत कार्ययोजना कार्यान्वयन गर्दा वा अन्य कुनै मनासिब कारणले हटाउनु पर्ने भएमा विभागको निर्देशनमा डिभिजन वन कार्यालयले हटाउन सक्नेछ।