दफा ५३५
करार उल्लङ्घन गरेको मानिने

(१) करारको कुनै पक्षले करार बमोजिमको दायित्व पूरा नगरेमा, करार बमोजिम आफूले गर्नु पर्ने काम निजले नगर्ने कुराको सूचना अर्को पक्षलाई दिएमा वा पक्षको काम कारबाही र आचरणबाट निज करार बमोजिमको काम गर्न असमर्थ देखिएमा निजले करार उल्लङ्घन गरेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम एक पक्षले करार उल्लङ्घन गरेकोमा, निजको काम कारबाही वा आचरणबाट निजले सारभूत रूपमा करारको पालना नगरेको देखिएमा वा पक्षको आचरण वा काम कारबाहीबाट सारभूत रूपमा करार उल्लङ्घन भएको देखिएमा अर्को पक्षले त्यस्तो पक्षलाई सूचना दिई त्यस्तो करार रद्द गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम करार रद्द भएकोमा यसरी करार रद्द गर्ने पक्ष करारको परिपालना गर्न बाध्य हुने छैन ।