दफा ५३७
करार उल्लङ्घन भएमा त्यसको क्षतिपूर्ति

(१) दफा ५३५ बमोजिम करार उल्लङ्घन भएकोमा त्यसबाट मर्का पर्ने पक्षले करार उल्लङ्घनबाट भएको वास्तविक हानि, नोक्सानी वा करार गर्दाको अवस्थामा त्यस्तो हानि, नोक्सानी हुन सक्छ भनी करारका पक्षहरूलाई जानकारी भई निर्धारण गरेको हानि, नोक्सानी त्यसरी करार उल्लङ्घन गर्ने पक्षबाट भराई लिन पाउनेछ ।
(२) करार उल्लङ्घन भएमा क्षतिपूर्ति वापत कुनै निश्चित रकम पाउने भनी करार हुँदाका बखत पूर्वानुमान गरी करार भएकोमा सोही बमोजिमको रकममा ननाध्ने गरी मर्का पर्ने पक्षले अर्को पक्षबाट मनासिब रकम उपदफा (१) बमोजिम भराई लिन पाउनेछ ।
(३) उपदफा (२) बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था करारमा नभएकोमा त्यस्तो क्षतिपूर्ति दाबी गर्ने पक्षले करारकोउल्लङ्घनबाट प्रत्यक्ष र वास्तविक रूपमा भएको हानि, नोक्सानी वा करार उल्लङ्घन वा क्षतिपूर्ति वापत मनासिब रकम भराई लिन पाउनेछ । तर अप्रत्यक्ष वा काल्पनिक हानि, नोक्सानी भराई लिन पाउने छैन ।
(४) कुनै निश्चित समयावधिभित्र कुनै काम पूरा गर्ने गरी करार भएकोमा त्यस्तो अवधिभित्र त्यस्तो काम पूरा हुन नसकेकोमा उपदफा (२) बमोजिमको क्षतिपूर्ति पाउने अवस्था रहेछ भने त्यस्तो क्षतिपूर्ति तिर्ने पक्षले जति रकम क्षतिपूर्ति तिरेको छ सोही अनुपातमा करार पूरा गर्ने समयावधि बढाउन माग गर्न सक्नेछ ।
(५) यस दफा बमोजिम क्षतिपूर्ति रकम चुक्ता भएको कारणले मात्र करार उल्लङ्घन भएको सम्बन्धमा अन्य कानूनी उपचार प्राप्त गर्ने पक्षको हकमा प्रतिकूल असर परेको मानिने छैन ।