दफा ५२९
करार परिपालना गर्ने पक्ष

(१) करारको परिपालना करार गर्ने व्यक्तिबाटै हुनु पर्नेमा बाहेक निजको प्रतिनिधि, निजले नियुक्त गरेको कुनै व्यक्ति वा निजको तर्फबाट अन्य कसैबाट पनि करार परिपालना गराउन वा करार अन्तर्गतको हक वा दायित्व हस्तान्तरण गर्न सकिनेछ । तर अर्को पक्षको मञ्जुरी बिना करारको कुनै पक्षले करार अन्तर्गतका दायित्व अन्य कसैलाई हस्तान्तरण गर्न पाउने छैन ।
(२) उपदफा (१) बमोजिम करार अन्तर्गतको हक वा दायित्व हस्तान्तरण गर्न देहायका शर्तहरू पूरा गर्नु पर्नेछ :
(क) करारमा अन्यथा उल्लेख भएकोमा बाहेक हस्तान्तरण लिखित रूपमा हुनु पर्ने,
(ख) हस्तान्तरण निः शर्त हुनु पर्ने,
(ग) कानून वा करारले हक वा दायित्व हस्तान्तरण गर्न रोक लगाएको हुन नहुने,
(घ) हक वा दायित्व हस्तान्तरण भएकोमा त्यसको म्याद सहितको सूचना पक्षलाई दिनु पर्ने ।
(३) करारको कुनै पक्षले तेस्रो व्यक्तिबाट भए गरेको कामलाई स्वीकार गरी सकेपछि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक करार गर्ने पक्षबाटै त्यस्तो काम हुनु पर्ने भनी पछि दाबी गर्न पाउने छैन ।
(४) दुई वा दुईभन्दा बढी व्यक्तिहरू मिली संयुक्त रूपमा अर्को पक्षसँग करार गरेकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक संयुक्त रूपले करार गर्ने व्यक्तिहरूमध्ये कुनै वा सबैबाट त्यस्तो करार बमोजिमको दायित्व पूरा गर्नु वा गराउनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम कुनै व्यक्तिले दायित्व पूरा नगरेकोमा दायित्व पूरा गर्ने व्यक्तिले संयुक्त रूपले करार गर्ने अरू व्यक्तिबाट दायित्व पूरा नगरे वापत समानुपातिक हिसाबमा हर्जाना वा नोक्सानी भराउन सक्नेछ ।
(६) उपदफा (४) बमोजिम भएको करारमा कुनै एक पक्षले अर्को पक्षमध्येको कुनै व्यक्तिलाई निजको हिस्सामा पर्ने दायित्वबाट छुट दिए पनि बाँकी रहेका अन्य व्यक्ति त्यस्तो करारको दायित्वबाट मुक्त हुने छैन ।