दफा ५४०
करारको यथावत परिपालना

(१) करार उल्लङ्घन भएको कारणबाट मर्का पर्ने पक्षलाई पुग्न गएको वास्तविक हानि, नोक्सानी वापत नगद क्षतिपूर्ति मनासिब र पर्याप्त नहुने भएमा त्यसरी मर्का पर्न गएको पक्षले क्षतिपूर्तिको सट्टा करारको यथावत परिपालनाको दाबी गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा करारको यथावत परिपालनाको दाबी गर्न सकिनेछैन:-
(क) करार उल्लङ्घन वापतको क्षतिपूर्ति नगद नै पर्याप्त हुने भएमा,
(ख) करार बमोजिमको काम भए नभएको कुरा अदालतले सुपरीवेक्षण गर्न नसक्ने भएमा,
(ग) व्यक्तिगत दक्षता, सीप वा ज्ञानको सेवा उपलब्ध गराउने गरी करार गरिएको भएमा,
(घ) यथावत्रूपमा करार पूरा गर्न सक्ने अवस्था नभएमा,
(ङ) करार उल्लङ्घन गर्ने पक्षले नै यथावत रूपमा करारको परिपालना गराई पाउने दाबी लिएकोमा ।