दफा ५६१
क्षतिपूर्ति सम्बन्धी विशेष व्यवस्था
यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद अन्तर्गतका करारको क्षतिपूर्तिको सम्बन्धमा देहाय बमोजिम हुनेछ :–
(क) वस्तु बिक्री सम्बन्धी करार भइसकेपछि क्रेताले वस्तु स्वीकार नगरेमा वा स्वीकार गर्न इन्कार गरेमा वा वस्तुको मूल्य तिर्न इन्कार गरेमा करारको अधीनमा रही विक्रेताले क्रेता विरुद्ध यसरी वस्तु स्वीकार नगरेको वा स्वीकार गर्न इन्कार गरे वापतको क्षतिपूर्ति दाबी गर्न सक्ने,
(ख) खण्ड (क) बमोजिमको क्षतिपूर्तिको निर्धारण गर्दा क्रेताले स्वीकार नगरेको वा स्वीकार गर्न इन्कार गरेको वस्तु बजारमा उपलब्ध भएमा त्यस्तो वस्तुको करारमा उल्लेख भए बमोजिमको मूल्य र बजार वा प्रचलित मूल्य बीच भएको अन्तरको आधारमा निर्धारण हुने,
(ग) वस्तु बिक्री सम्बन्धी करार भइसकेपछि बिक्रेताले करार बमोजिम क्रेतालाई वस्तु नबुझाएमा वा बुझाउन इन्कार गरेमा वस्तु नबुझाए वापत क्रेताले विक्रेता विरुद्ध क्षतिपूर्ति दाबी गर्न सक्ने,
(घ) खण्ड (ग) बमोजिमको क्षतिपूर्तिको निर्धारण गर्दा बिक्रेताले क्रेतालाई नबुझाएको वा बुझाउन इन्कार गरेको वस्तु बजारमा उपलब्ध भएमा त्यस्तो वस्तुको करारमा उल्लेख भए बमोजिमको मूल्य र बजार वा प्रचलित मूल्यबीच भएको अन्तरको आधारमा हुने ।