दफा ६०६
ढुवानीकर्ताको दायित्व सीमित हुनेः

(१) करार गर्दाकै बखत वस्तुको धनी वा निजको प्रतिनिधिले ढुवानी गर्नु पर्ने वस्तुको मूल्य बढी भएको स्पष्ट रूपमा घोषणा गरेकोमा वा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक ढुवानीकर्ताले ढुवानी गरेको वस्तुको हानि वा नोक्सानी वापतको क्षतिपूर्ति एक लाख रूपैयाँभन्दा बढी हुने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि करार गर्दाकै बखत वा ढुवानीकर्तालाई ढुवानी वापत वस्तु बुझाएका बखत वस्तुको धनी वा निजको प्रतिनिधिले स्पष्ट रूपमा घोषणा गरेकोमा बाहेक सुन, चाँदी, हिरा, जवाहरात वा त्यस्ता धनमालबाट बनेका मालसामान, बहुमूल्य पत्थर, विनिमय अधिकारपत्र, धितोपत्र, अड्डाबाट पारित लिखत तथा शैक्षिक एवं अन्य निकायहरूबाट जारी भएका प्रमाणपत्र, मुद्रा, बैङ्क नोट, हुलाक टिकट, माछा, मासु, ताजा फलफूल तथा तरकारी, कीटनाशक तथा विषादी पदार्थ, प्रज्वलनशील पदार्थ, पेट्रोलियम पदार्थ, बहुमूल्य चित्रकला, मूर्ति, क्युरियोका मालसामान, सिसा वा सिसाबाट बनेका वा सजिलैसँग टुट्ने फुट्ने वा बिग्रने वस्तु, वन्यजन्तु वा घरपालुवा पशु पंक्षी, हस्तकलाका सामग्री, हातहतियार, खरखजाना, विद्युतीय उपकरण (रेडियो, टेलिभिजन, कम्प्यूटर, मोवाइल वा त्यस्तै अन्य वस्तु) तथा त्यस्ता वस्तुका पार्टपूर्जा, मेशिनरी वस्तु तथा ढुवानी हुनु अगावै वस्तुको धनीले घोषणा गर्नु पर्ने मालसामान भनी कानूनमा तोकिएका वस्तुहरूको हानि, नोक्सानी वापत ढुवानीकर्ता जवाफदेही हुने छैन ।
(३) उपदफा (२) बमोजिमका वस्तुको ढुवानी वापत व्यहोर्नु पर्ने जोखिमका लागि मालसामानको धनी वा निजको प्रतिनिधि मार्फत जोखिम विरुद्ध बीमा गराउन वा छुट्टै शुल्क लिई आफैँले बीमा गराउन वा ढुवानीकर्ताले जोखिम रोक्न अन्य आवश्यक व्यवस्था गर्न सक्नेछ ।