दफा ५५
दामासाही सम्बन्धी कारबाही गर्न निवेदन दिनु पर्ने

(१) दामासाहीमा पर्न लागेको व्यक्ति आफैँले वा ऋण सार्वजनिक भएको भए कम्तीमा पच्चीस प्रतिशत वा सोभन्दा बढी ऋण दाबी भएको र ऋण सार्वजनिक नभएको भए पाँचलाख रुपैयाँभन्दा बढी ऋण दाबी भएका साहू वा साहूहरूको समूहले दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्नको लागि अदालतमा निवेदन दिन सक्नेछन्।
(२) उपदफा (१) बमोजिम दामासाहीका लागि दामासाहीमा पर्न लागेको व्यक्तिले निवेदन दिँदा देहायको विवरण निवेदनमा खुलाउनु पर्नेछ :–
(क) निजको कूल जायजेथाको यथार्थ विवरण र त्यसको मूल्य, (ख) निजले लिएको कूल ऋण रकम, त्यसमा लागेको ब्याजको विवरण तथा त्यस्तो ऋण दिने साहू वा साहूहरूको ठेगाना सहितको विवरण, (ग) निजले चुक्ता गर्नु पर्ने अन्य दायित्व भए त्यसको विवरण, (घ) ऋण तथा अन्य दायित्व चुक्ता वा पूरा गर्न नसक्नाको कारण ।
(३) उपदफा (१) बमोजिम साहू वा साहूहरूको समूहले दामासाहीको लागि निवेदन दिँदा देहायको विवरण निवेदनमा खुलाउनु पर्नेछ :–
(क) निजको ऋणी दामासाहीमा पर्न लागेको प्रमाण,
(ख) आफूले थाहा पाएसम्मको निजको जायजेथाको विवरण र त्यसको अनुमानित मूल्य,
(ग) आफ्नो दाबी तथा अन्य साहूको ऋण वा दाबी थाहा पाएको भए त्यसको विवरण,
(घ) साहूहरूको ठेगाना समेतको विवरण ।
(४) दामासाहीको कारबाही प्रारम्भ गर्न उपदफा (१) बमोजिम निवेदन दिनु अघि साहू वा साहूहरूको समूहले कम्तीमा तीन महिनाको म्याद दिई निजको ऋण वा अन्य दायित्व चुक्ता गर्न र त्यस्तो अवधिभित्र चुक्ता नगरेमा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्नको लागि अदालतमा निवेदन गर्ने कुराको सूचना ऋणीलाई दिएको हुनु पर्नेछ ।