दफा ५७२
प्रत्याशन (सब्रोगेशन) सम्बन्धी व्यवस्था

(१) कुनै व्यक्तिको सम्पत्ति, निजले उपभोग गरेको सुविधा वा हक वा कारोबारबाट हुने लाभ उपर तेस्रो पक्षबाट हुन सक्ने हानि, नोक्सानीका विरुद्ध कुनै व्यक्तिसँग करार भएकोमा त्यस्तो हानि, नोक्सानी जोसुकैले गरेको भए तापनि त्यस्तो करार गर्ने व्यक्तिले नै व्यहोर्नु पर्नेछ । तर त्यस्तो हानि, नोक्सानी अर्को कुनै व्यक्तिबाट व्यहोरिने गरी करार भएकोमा त्यस्तो व्यक्तिबाट दिलाई भरार्ई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम भएको हानि, नोक्सानी वापत निश्चित रकम वा क्षतिपूर्ति उपलब्ध गराउने कुरा करारमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा मनासिब रकम वा क्षतिपूर्ति हानि, नोक्सानी भएको कारणले प्रभावित व्यक्ति वा निजको मृत्यु भइसकेको भए निजको हकवालालाई तत्काल दिनु वा दिलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम हानि, नोक्सानी भएकोमा हानि, नोक्सानी भएको व्यक्तिको स्थानमा उपदफा (२) बमोजिमको रकम वा क्षतिपूर्ति दिने व्यक्तिले प्रत्याशन गरेको मानिनेछ र सोही बमोजिम हानि, नोक्सानी पुर्याउने व्यक्तिबाट त्यसरी प्रत्याशन गर्ने व्यक्तिले हानि, नोक्सानी वापतको रकम वा क्षतिपूर्ति भरार्ई लिन पाउनेछ ।