दफा १२६
मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्ने व्यक्तिको अधिकार, जिम्मेवारी र कर्तव्य
यस परिच्छेद बमोजिम मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्न पाउने आमा वा बाबुको अधिकार, निजले पूरा गर्नु पर्ने जिम्मेवारी र पालना गर्नु पर्ने कर्तव्य देहाय बमोजिम हुनेछ :–
(क) नाबालकलाई आफूसाथ राख्ने, सामीप्यता दिने तथा निजको काम, कारबाही तथा आचरणलाई निगरानी राख्ने,
(ख) खान, लगाउन दिने तथा खान, लगाउन र परिश्रम गर्न सिकाउने,
(ग) स्नेह, अनुराग तथा माया दिने,
(घ) सामाजिक मर्यादा, शिष्टाचार, सदाचार, नैतिकता, संस्कार, संस्कृति र रहन सहन सिकाउने, बुझाउने र सो अनुसार आचरण गर्न सिकाउने,
(ङ) इमानदारी, आत्मविश्वास, स्वावलम्बन, सच्चरित्रता, परिश्रम, अनुशासन जस्ता सामाजिक मूल्यमा आधारित नैतिक शिक्षा दिने,
(च) शारीरिक तथा मानसिक स्वास्थ्यप्रति निगरानी राख्ने, स्वास्थ्योपचार गर्ने वा गराउने,
(छ) आवश्यकता अनुसार खेल्ने र मनोरञ्जन गर्ने अवसर दिने,
(ज) पठनीय तथा सन्देशमूलक शैक्षिक सामग्री उपलब्ध गराउने,
(झ) परिवार, समाज, समुदाय, राष्ट्र तथा मुलुकप्रति निष्ठावान रहन मार्गदर्शन दिने,
(ञ) कुलत, खराब सङ्गत तथा अश्लील विषयबाट अलग राख्ने,
(ट) आज्ञापालन, आदर तथा सम्मान गर्न सिकाउने,
(ठ) शारीरिक, मानसिक तथा बौद्धिक व्यक्तित्व विकासका लागि आवश्यक पर्ने अन्य जुनसुकै काम गर्ने वा गराउने ।