दफा १६४
माथवरी स्वतः अन्त्य हुने

(१) देहायको अवस्थामा माथवरी स्वतः अन्त्य भएको मानिनेछः–
(क) नाबालक भए निजको उमेर अठार वर्ष पूरा भएमा,
(ख) होस ठेगानमा नरहेको व्यक्ति भए निजको होस ठेगानमा रहेमा,
(ग) नाबालकको आमा वा बाबु वा दुवैले नाबालकलाई आफ्नो जिम्मा लिएकोमा,
(घ) नाबालक वा होस ठेगानमा नरहेको व्यक्तिको संरक्षक नियुक्ति भएमा,
(ङ) दफा १६२ को उपदफा (३) बमोजिम अदालतले माथवरीबाट हटाएमा,
(च) माथवरको दफा १५८ बमोजिमको योग्यता नभएमा वा नरहेमा,
(छ) माथवर हुने वा माथवरीमा रहेको व्यक्तिको मृत्यु भएमा ।
(२) उपदफा (१) बमोजिम माथवरी अन्त्य भएकोमा माथवरको हैसियतमा जिम्मा लिएको सम्पत्ति माथवर भएको व्यक्तिले तुरुन्त सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।