दफा ६२५
हायर पर्चेज करारमा उल्लेख गर्नु पर्ने कुराहरूः

(१) दफा ६२४ बमोजिमको हायर पर्चेज करारमा देहायका कुराहरू उल्लेख गर्नु पर्नेछ:-
(क) वस्तु र त्यसको संक्षिप्त विवरण,
(ख) वस्तुको हायर पर्चेज मूल्य,
(ग) वस्तुको नगदी मूल्य,
(घ) करार प्रारम्भ भएको मानिने मिति,
(ङ) भाडामा लिने व्यक्तिले वस्तुको धनीलाई भुक्तानी गर्नु पर्ने किस्ताबन्दी रकम र त्यसको सङ्ख्या,
(च) प्रत्येक किस्ताबन्दी रकम बुझाउनु पर्ने मिति तथा भुक्तानी गर्नु पर्ने तरिका,
(छ) खण्ड (च) बमोजिम रकम भुक्तानी गर्नु पर्ने व्यक्ति र ठाउँ ।
(२) उपदफा (१) को खण्ड (च) बमोजिम किस्ताबन्दी रकम नगद बाहेक अन्य कुनै तरिकाले भुक्तानी गर्न सकिने भएकोमा हायर पर्चेज करारमा त्यसको संक्षिप्त विवरण उल्लेख गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिमका कुनै शर्तहरू उल्लेख नभई हायर पर्चेज करार भएकोमा भाडामा लिने व्यक्तिले त्यस्तो करार रद्द (रिस्साइण्ड) गराउन उजुर गर्न सक्नेछ र त्यस्तो कुनै शर्त करारमा उल्लेख नभएको कारणले भाडामा लिने व्यक्तिलाई प्रतिकूल असर पर्ने देखेमा अदालतले त्यस्तो करार रद्द गर्न वा उपयुक्त ठहराएको अन्य कुनै आदेश जारी गर्न सक्नेछ ।
(४) “हायर पर्चेज मूल्य” भन्नाले भाडामा लिने व्यक्तिले वस्तुको पूरा मूल्य भुक्तानी गरी खरिद गर्न वा प्राप्त गर्न भुक्तानी गर्नु पर्ने कुल रकम सम्झनु पर्छ र सो शब्दले धरौटी वा प्रारम्भिक रकमको रूपमा भुक्तानी गर्नु पर्ने रकम समेतलाई जनाउँछ ।
(५) “नगदी मूल्य” भन्नाले भाडामा लिने व्यक्तिले नगद भुक्तान गरेर कुनै वस्तु खरिद गर्न सक्ने मूल्य सम्झनु पर्छ ।