दफा ४९
उपदान
(१) पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तभरण पाउने अवधि नपुगेको कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई संघीय संसद सेवाबाट अलग भएमा वा भविष्यमा संघीय संसद वा अन्य सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा निजले देहाय बमोजिम उपदान पाउनेछः-
(क) पाँच वर्षभन्दा बढी दश वर्षसम्म सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आधा महिनाको आखिरी तलब,
(ख) दश वर्षभन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त एक महिनाको आखिरी तलब,
(ग) पन्ध्र वर्षभन्दा बढी बीस वर्षभन्दा कम सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त डेढ महिनाको आखिरी तलब ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संघीय संसद सेवामा बहाल रहने उद्देश्यले नागरिकता, योग्यता वा उमेर ढाँटेको प्रमाणित हुन आएमा त्यस्तो कर्मचारीलाई उपदान दिइने छैन र ढांँटे बापत प्रचलित कानून बमोजिम सजाय समेत हुनेछ ।