दफा ५०
निवृत्तभरण
(१) बीस वर्ष वा सोभन्दा बढी अवधिसम्म सेवा गरेकोकर्मचारीले देहाय बमोजिमको हिसाबले मासिक निवृत्तभरण पाउनेछः-
(जम्मा सेवा वर्ष × आखिरी तलबको रकम) ÷ ५०
तर,
(१) भविष्यमा संघीय संसद वा अन्य सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी संघीय संसद सेवाबाट बरखास्त गरिएको कर्मचारीले यस दफा बमोजिम निवृत्तभरण पाउने छैन,
(२) संघीय संसद सेवामा बहाल रहने उद्देश्यले नागरिकता, योग्यता वा उमेर ढाँटेको प्रमाणित हुन आएमा त्यस्ता कर्मचारीलाई निवृत्तभरण दिइने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवा प्रवेशको लागि अधिकतम उमेर
४० वर्ष तोकिएको वर्ग र पदमा नियुक्त भएका कर्मचारीहरु उमेरका कारण अनिवार्य अवकाश हुँदा निजको सेवा अवधि निवृत्तभरण पाउन सक्ने अवस्था रहेनछ भने त्यस्तो कर्मचारीलाई बढीमा दुई वर्षसम्म सेवा अवधि थप गरी निवृत्तभरण प्रदान गर्न सकिनेछ ।
(३) सम्वत् २०४९ साल कार्तिक २१ गते अघिदेखि निजामती सेवामा बहाल रही पछि संघीय संसद सेवामा कायम भएका कर्मचारीले ३० वर्ष सेवा अवधि पूरा गरिसकेको भए स्वेच्छाले सेवाबाट अवकाश लिन सक्नेछ । यसरी अवकाश लिंदा कर्मचारीको साठी वर्ष उमेर पूरा हुन जति अवधि बाँकी छ सो अवधि थप गरी निजको जम्मा सेवा अवधि कायम गरिनेछ ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरणको न्यूनतम रकम समान पदको बहालवाला कर्मचारीको तलबको शुरु अङ्कको आधा रकमभन्दा कम र समान पदको बहालवाला कर्मचारीको तलबको शुरु अङ्कभन्दा बढी हुने छैन ।
(५) पन्ध्र वर्ष सेवा अवधि पूरा गरेको कुनै कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा बढीमा पाँच वर्ष थप गरी निजको परिवारलाई निवृत्तभरण वा उपदान जुन लिन चाहन्छ सो रोजेर लिन दिइनेछ ।
(६) कुनै सरकारी पदमा अघि गरेको सेवा बापत निवृत्तभरण पाइरहेको व्यक्ति पछि संघीय संसद सेवाको कुनै पदमा नियुक्ति भएमा निजले पछि गरेको सेवा अवधिमा अघि गरेको सेवा अवधि जोडी यस दफा बमोजिम निवृत्तभरण लिन पाउनेछ ।