दफा ६६४
अनुचित सम्वृद्धि (अनजष्ट इन्रिचमेन्ट) भएको मानिनेः

(१) कुनै व्यक्तिले कानूनसम्मत काम गर्नु पर्ने वा दायित्व पूरा गरिदिनु पर्ने कारण बिना कसैले कसैबाट कुनै लाभ वा सुविधा प्राप्त गरेमा त्यसरी लाभ वा सुविधा प्राप्त गर्ने व्यक्तिले अनुचित सम्वृद्धि प्राप्त गरेकोे मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको अनुचित सम्वृद्धि देहायको अवस्थामा प्राप्त गरेको मानिनेछ:-
(क) निजको सम्पत्तिमा वृद्धि वा दायित्वमा कमी भएमा,
(ख) निजले अर्काको सेवा प्राप्त गरेमा वा कसैलाई काम गराएमा,
(ग) निजको लागि अर्काको सम्पत्ति प्रयोग भएमा ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा बाहेक कसैले कुनै किसिमले कुनै वस्तु, सेवा, लाभ वा सुविधा प्राप्त गरेमा पनि अनुचित सम्वृद्धि प्राप्त गरेको मानिनेछ:-
(क) कानून वा करार बमोजिम कुनै व्यक्तिबाट कुनै वस्तु, सेवा, लाभ वा सुविधा प्राप्त गर्न सक्ने भएमा,
(ख) जुन व्यक्तिबाट कुनै वस्तु, सेवा, लाभ वा सुविधा प्राप्त गरेको हो त्यस्तो व्यक्तिले फिर्ता वा शोधभर्ना नमाग्ने गरी स्वतन्त्र सहमतिबाट प्राप्त गरेको भएमा ।
(४) यस परिच्छेद बमोजिम कुनै व्यक्तिले अनुचित सम्वृद्धि प्राप्त गरेको, नगरेको वा कुन हदसम्म प्राप्त गरेको हो सो निर्धारण गर्दा अनुचित सम्वृद्धि प्राप्त गरेपछि त्यस्तो व्यक्तिलाई त्यसको कारणबाट बेफाइदा वा हानि, नोक्सानी भएको विचार गरिने छैन ।
(५) यस दफा बमोजिम कसैले अनुचित सम्वृद्धि प्राप्त गरेकोमा निजले यस परिच्छेद बमोजिम दायित्व व्यहोर्नु पर्नेछ ।