दफा ५६०
करार गरिएको भन्दा फरक परिमाणमा वस्तु बुझाउन नहुने

(१) बिक्रेताले करारमा उल्लेख गरिएकोभन्दा कम परिमाणमा वस्तु बुझाउन ल्याएमा क्रेताले त्यस्तो वस्तु बुझिलिन इन्कार गर्न सक्नेछ । तर क्रेताले त्यस्तो परिमाणमा पनि वस्तु बुझिलिएमा करारमा उल्लिखित दरमा त्यस्तो परिमाणको मूल्य चुक्ता गर्नु पर्नेछ ।
(२) विक्रेताले करारमा उल्लेख गरिएकोभन्दा बढी परिमाणमा वस्तु बुझाउन ल्याएमा क्रेताले करारमा उल्लेख भएको परिमाणको वस्तु बुझिलिई बाँकी वस्तु वा पूरै परिमाणका वस्तु बुझिलिन इन्कार गर्न सक्नेछ । तर क्रेताले यसरी बुझाउन ल्याएको पूरै वस्तु बुझिलिएमा करारमा उल्लिखित दरमा पूरै परिमाणको मूल्य चुक्ता गर्नु पर्नेछ ।
(३) बिक्रेताले करारमा उल्लिखित वस्तुको विवरणभन्दा फरक वस्तु मिसाई वस्तु बुझाउन ल्याएमा क्रेतालेकरारमा उल्लेख भएको वस्तु बुझिलिई बाँकी वस्तु वा पूरै वस्तु बुझिलिन इन्कार गर्न सक्नेछ ।
(४) करारमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक पटकपटक गरी वस्तु बुझिलिन क्रेता बाध्य हुने छैन ।
(५) बिक्रेताले बुझाउन ल्याएको वस्तु क्रेताले बुझिलिन इन्कार गरेमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक इन्कार गरिएको वस्तु फिर्ता गर्न क्रेता बाध्य हुने छैन । तर क्रेताले वस्तु बुझिलिन इन्कार गरेको कारण सहितको सूचना छिटो साधनद्वारा बिक्रेतालाई दिनु पर्नेछ ।