दफा ५०६
करार गर्न सक्षम व्यक्ति

(१) देहायका व्यक्ति बाहेक अरू जुनसुकै व्यक्ति करार गर्न सक्षम हुनेछन् :–
(क) नाबालक,
(ख) होस ठेगानमा नभएको।स्पष्टीकरण:
(१) साधारणतया होस ठेगानमा नरहेको तर कहिलेकाँही होस ठेगानमा रहेको व्यक्तिले होस ठेगानमा रहेका बखत करार गर्न सक्नेछ ।
(२) साधारणतया होस ठेगानमा रहेको तर कहिलेकाहिँ होस ठेगानमा नरहेको व्यक्तिले होस ठेगानमा नरहेका बखत करार गर्न सक्ने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम कुनै खास करार गर्न असक्षम मानिएको व्यक्ति त्यस्तो करार गर्न सक्षम भएको मानिने छैन ।
(३) असक्षम वा अर्धसक्षम व्यक्तिका तर्फबाट करार गर्नु पर्दा निजको संरक्षक वा माथवरले करार गर्न सक्नेछ ।
(४) कानूनी व्यक्तिको तर्फबाट करार गर्नु पर्दा त्यस्तो व्यक्तिको व्यवस्थापन तथा सञ्चालन गर्न अधिकार प्राप्त सञ्चालक वा सञ्चालकहरूको निर्णय वा निजको अख्तियार प्राप्त व्यक्तिले गर्नु पर्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास विषयमा यस परिच्छेद बमोजिम करार गर्न असक्षम मानिएको व्यक्ति त्यस्तो विषयमा निज अन्य कानून बमोजिम करार गर्न सक्ने व्यवस्था भएमा त्यस्तो विषयमा त्यस्तो व्यक्ति करार गर्न सक्षम भएको मानिनेछ ।