दफा ५८
दामासाहीको कारबाही प्रारम्भ गर्न आदेश दिने

(१) दफा ५५ बमोजिम दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न अदालतमा निवेदन परेमा सो सम्बन्धमा कारबाही प्रारम्भ गर्न उपयुक्त हुने वा नहुने सम्बन्धमा अदालतले आदेश दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न आदेश दिएकोमा अदालतले दामासाहीमा पर्न लागेको व्यक्ति स्वयम् वा साहूको अनुरोधमा निजको परिवारको अन्य कुनै सदस्यलाई जुन व्यक्तिको जायजेथाका सम्बन्धमा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्ने हो त्यस्तो व्यक्तिको जायजेथा दामासाहीको प्रयोजनको लागि यथास्थितिमा राख्नको लागि आदेश दिनेछ ।
(३) दामासाहीमा पर्न लागेको व्यक्तिको सम्पत्ति त्यस्तो व्यक्ति वा निजको परिवारको सदस्यबाट व्यवस्थापन गर्दा हिनामिना हुन सक्ने वा त्यसको समुचित व्यवस्थापन हुन सक्दैन भन्ने अदालतलाई लागेमा पक्षको निवेदनको आधारमा वा अदालतको आफ्नै तजविजीबाट देहायको कुनै व्यक्तिलाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गर्न जिम्मेवारी दिन सक्नेछ :–
(क) कानून बमोजिम दामासाही व्यवसायीको रूपमा इजाजत प्राप्त व्यक्ति,
(ख) कानून बमोजिम नियुक्त दामासाही ट्रष्टी,
(ग) स्थानीय तहको सम्बन्धित वडा समिति,
(घ) अदालतले तोकेको अदालतको कुनै अधिकृत कर्मचारी वा कानून व्यवसायी ।
(४) उपदफा (३) बमोजिम तोकिएको स्थानीय तह, ट्रष्टी वा व्यक्तिले अदालतको आदेश बमोजिम दामासाहीमा पर्न लागेको व्यक्तिको जायजेथाको व्यवस्थापन गर्नु पर्नेछ ।