नियम ५३
प्रहरी महानिरीक्षकको काम, कर्तव्य र अधिकार
: यस नियमावलीमा लेखिएका अन्य कुराहरुका अतिरिक्त प्रहरी महानिरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) प्रहरी प्रधान कार्यालय र सो मातहतका सबै प्रहरी कार्यालयहरूमा सामान्य नियन्त्रण, रेखदेख गर्ने र निर्देशन दिने,
(ख) प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायव महानिरीक्षकहरूको काम कारबाही उपर उचित रेखदेख तथा नियन्त्रण गर्ने,
(ग) प्रहरी सङ्गठनको काम कारबाहीलाई प्रभावकारी बनाउन आदेशको शृङ्खलालाई प्रभावकारीरूपमा लागू गर्ने वा गराउने, मातहत प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण कायम गर्ने वा गराउने,
(घ) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न आवश्यक नीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने वा गराउने,
(ङ) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने वा गराउने,
(च) प्रहरी सेवालाई समयानुकूल र जनमुखी बनाउन नीति एवं योजना तर्जुमा गरी लागू गर्ने वा गराउने,
(छ) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने, असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(ज) सामाजिक सद्भाव बिथोल्ने, सुरक्षा प्रतिकूल, गैरकानूनी एवं गम्भीर आपराधिक क्रियाकलाप र असाधारण अवस्थाको राजनीतिक गतिविधि सम्बन्धी प्रतिवेदन यथाशिघ्र मन्त्रालयमा पठाउने,
(झ) सुरक्षा प्रतिकूल, गैरकानूनी एवं आपराधिक क्रियाकलापको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक योजना तर्जुमा गरीे प्रभावकारीरूपमा लागू गर्ने वा गराउने,
(ञ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारिता अभिवृद्धि गर्नका लागि आवश्यक नीति तथा योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(ट) प्रहरी कर्मचारीहरूको पीरमर्का व्यवस्थापनको उचित व्यवस्था गर्ने वा गराउने,
(ठ) प्रहरी कर्मचारीहरूलाई आवश्यक पर्ने समयानुकूल प्रशिक्षणको व्यवस्था गर्ने,
(ड) विपत् व्यवस्थापन र पीडितको उद्धार कार्यमा प्रहरीलाई तदारुकतासाथ संलग्न गराउने,
(ढ) अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनसँग सम्पर्क तथा समन्वय कायम राख्ने,
(ण) वर्षमा एक पटक प्रत्येक क्षेत्रभित्रका कम्तीमा तीन जिल्लाका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने र सोको प्रतिवेदन मन्त्रालयमा पठाउने,
(त) देशको आन्तरिक शान्ति सुव्यवस्थासँग सम्बन्धित विषयमा नेपाल सरकारलाई राय सल्लाह दिने,
(थ) नेपाल सरकारबाट प्राप्त निर्देशन अनुरूप कार्यसम्पादन गरी प्रतिवेदन पेश गर्ने,
(द) अन्तर्राष्ट्रिय समुदायबाट शान्ति स्थापनार्थ नेपाल प्रहरीको माग भई आएमा नेपाल सरकारबाट स्वीकृति भए बमोजिम खटाउने व्यवस्था मिलाउने,
(ध) सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको कार्यशाला, गोष्ठी, तालीम तथा अध्ययन आदिमा नेपाल प्रहरीको सहभागिताका लागि मन्त्रालयसमक्ष राय एवं सिफारिस पेश गर्ने,
(न) प्रहरी प्रशासनको वार्षिक प्रतिवेदन मन्त्रालयमा पठाउने,
(प) प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।