नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अमर प्रहरी” भन्नाले आतङ्ककारी घटना वा विष्फोटन वा सशस्त्र मुठभेडबाट भएको आक्रमण वा आतङ्ककारी विरुद्धको प्रहरी कारबाहीमा वा अन्य विशेष अवस्था परी जोखिमपूर्ण र चुनौतीपूर्ण काममा खटिएको समयमा कुनै आकस्मिक दुर्घटनामा परी वा लडी वा कुनै प्रकारको हतियारको चोटबाट वीरगति प्राप्त प्रहरी कर्मचारी सम्झनु पर्छ ।
(ख) “ऐन” भन्नाले प्रहरी ऐन, २०१२ सम्झनु पर्छ ।
(ग) “कल्याण कोष” भन्नाले नियम १९४ बमोजिमको प्रहरी कल्याण कोष सम्झनु पर्छ ।
(घ) “कार्यकारी निर्देशक” भन्नाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख सम्झनु पर्छ ।
(ङ) “कार्यालय” भन्नाले नियम ८ बमोजिमको कार्यालय सम्झनु पर्छ ।
(च) “गणप्रमुख” भन्नाले केन्द्रीय वा क्षेत्रीयस्तरका सशस्त्र तथा दङ्गा नियन्त्रण प्रहरी गणको प्रमुख सम्झनु पर्छ ।
(छ) “जनपद प्रहरी समूह” भन्नाले नियम ३ बमोजिमको जनपद प्रहरी समूह सम्झनु पर्छ ।
(ज) “निर्देशक” भन्नाले प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेका निर्देशनालय वा व्यूरोको प्रमुख सम्झनु पर्छ ।
(झ) “पदपूर्ति समिति” भन्नाले नियम १० बमोजिमको पदपूर्ति समिति सम्झनु पर्छ.।
(ञ) “प्रशिक्षार्थी प्रहरी कर्मचारी” भन्नाले आधारभूत तालीमरत प्रहरी कर्मचारी सम्झनु पर्छ ।
(ट) “प्रहरी अतिरिक्त आयुक्त” भन्नाले महानगरीय प्रहरी अन्तर्गत कार्यरत प्रहरी नायव महानिरीक्षक सम्झनु पर्छ ।
(ठ) “प्रहरी आयुक्त” भन्नाले महानगरीय प्रहरी कार्यालयको प्रमुख सम्झनु पर्छ ।
(ड) “प्रहरी कार्यालय सहयोगी” भन्नाले श्रेणीविहीन प्रहरी कर्मचारी सम्झनु पर्छ ।
(ढ) “प्रहरी परिवार” भन्नाले प्रहरी कर्मचारीसँग बस्ने तथा निज आफैले पालनपोषण गर्नुपर्ने पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु,  आमा वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले पुरुष र अविवाहित महिला प्रहरी कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहित महिला प्रहरी कर्मचारीको हकमा निजको सासू, ससुरालाई समेत जनाउँछ ।
(ण) “प्रहरी प्राविधिक कर्मचारी” भन्नाले प्रहरी प्राविधिक समूहमा कार्यरत प्रहरी कर्मचारी सम्झनु पर्छ ।
(त) “प्राविधिक प्रहरी समूह” भन्नाले नियम ३ बमोजिमको प्राविधिक प्रहरी समूह सम्झनु पर्छ ।
(थ) “प्रहरी महानिरीक्षक” भन्नाले प्रहरी प्रधान कार्यालयको प्रमुख सम्झनु पर्छ ।
(द) “प्रहरी सहआयुक्त” भन्नाले महानगरीय प्रहरी परिसरको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सम्झनु पर्छ ।
(ध) “प्रहरी सेवा” भन्नाले ऐनको दफा ३ बमोजिम गठीत प्रहरी फोर्स अन्तर्गत गठन भएको प्रहरी सेवा सम्झनु पर्छ ।
(न) “मन्त्रालय” भन्नाले नेपाल सरकार, गृह मन्त्रालय सम्झनु पर्छ ।
(प) “विभाग” भन्नाले प्रहरी महानिरीक्षकबाट तोकिए बमोजिमको कार्यसम्पादनका लागि गठन भएका प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानवस्रोत विकास विभाग सम्झनु पर्छ र सो शब्दले आवश्यकता अनुसार गठन हुने अन्य विभाग समेतलाई जनाउँछ ।
(फ) “प्रहरी सङ्गठन” भन्नाले प्रहरी प्रधान कार्यालय र सो मातहत रहेका सम्पूर्ण कार्यालयहरू तथा सो कार्यालयमा कार्यरत सम्पूर्ण जनशक्ति समेतको नेपाल प्रहरीको समष्टिगत संरचनालाई जनाउँदछ ।
(ब) “समादेशक” भन्नाले महानगरीय प्रहरी शिक्षालय तथा क्षेत्रीय प्रहरी तालीम केन्द्रको प्रमुख सम्झनु पर्छ ।
(भ) “स्थायी आवासीय अनुमति” भन्नाले विदेशी मुलुकले कुनै शर्त तोकी वा नतोकी सो मुलुकमा स्थायी रुपले बसोबास गर्न पाउने गरी नेपाली नागरिकलाई उपलब्ध गराएको डाइभरसिटी इमिग्रेन्ट भिसा (डि.भि.) परमानेन्ट रेजिडेन्ट भिसा ( पि.आर.), वा ग्रीन कार्ड सम्झनु पर्छ र सो शब्दले नेपाली नागरिकलाई विदेशमा स्थायी रुपमा बसोबास गर्न दिइएको जुनसुकै नामको स्थायी आवासीय अनुमतिलाई समेत जनाउँछ ।