दफा ५१८
बदर गराउन सकिने करार

(१) करारका पक्षको प्रयासमा अदालतबाट बदर घोषित गराउन सकिने करारलाई बदर गर्न सकिने करार मानिनेछ ।
(२) देहाय बमोजिम भएको करार त्यस्तो करारबाट मर्का पर्ने व्यक्तिले अदालतबाट बदर गराउन सक्नेछ :–
(क) करकापबाट भएको करार,स्पष्टीकरण : कुनै व्यक्तिलाई निजको इच्छा विरुद्ध कुनै करार गराउने मनसायले निजको सम्पत्ति रोक्का राखेको वा राख्न धम्की दिएको वा निजको जीउ, ज्यान वा इज्जतमा धक्का पु¥याउने धम्की दिएको वा कानून विपरीत अन्य कुनै काम गरेको वा गर्न धम्की दिएको भए करकाप गरेको सम्झनु पर्छ ।
(ख) अनुचित प्रभावबाट भएको करार,स्पष्टीकरण :
(१) आफ्नो प्रभावमा रहेको र आफ्नो इच्छानुसार काम गराउन सकिने व्यक्तिबाट आफ्नो हित वा स्वार्थका लागि कुनै अनुचित लाभ उठाउने मनसायले त्यस्तो व्यक्ति उपर पारेकोप्रभावलाई अनुचित प्रभाव सम्झनु पर्छ ।
(२) खण्ड (१) को सर्वसामान्यतामा प्रतिकूल नहुने गरी देहायका व्यक्तिलाई आफ्नो प्रभावमा रहेका र आफ्नो इच्छानुसार काम गराउन सकिने व्यक्ति सम्झनु पर्छः–
(क) आफ्नो संरक्षकत्व, माथवरी वा जिम्मामा रहेको व्यक्ति,
(ख) बृद्धावस्था, बिरामी अवस्था वा शारीरिक वा मानसिक दुर्बलताले गर्दा केही समय वा सदाका लागि आफ्नो हितको विचार गर्न नसक्ने व्यक्ति,
(ग) आफूले आर्थिक वा पदीय दवाब पार्न सकिने व्यक्ति ।
(ग) जालसाजबाट भएको करार,स्पष्टीकरण : करार गर्ने पक्ष वा निजको प्रतिनिधिले अर्को पक्ष वा निजको प्रतिनिधिलाई धोका दिने नियतबाट कुनै कुरा सत्य होइन भन्ने जानकारी हुँदा हुँदै त्यस्तो कुरा सत्य हो भनी विश्वास दिलाएको वा विश्वास पर्न सक्ने कुनै काम कारबाही गरेको वा कुनै तथ्यका बारेमा जानकारी हुँदा हुँदै त्यस्तो तथ्य जानीजानी लुकाएको वा कानून बमोजिम जालसाज हुने अन्य कुनै काम गरेको भए जालसाज गरेको सम्झनु पर्छ ।
(घ) झुक्याई गराएको करार ।स्पष्टीकरण : देहाय बमोजिमको कामलाई झुक्याएको सम्झनु पर्छ :–
(१) मनासिब आधार बिना कुनै कुराको झुट्टा विवरण वा तथ्य दिएको,
(२) कुनै पक्षलाई मर्का पर्ने गरी बहकाएको,
(३) करारको विषयवस्तुमा गल्ती गराएको,
(४) एक विषयमा करार भएको विश्वास दिलाई अर्को विषयमा करार गराएको ।
(३) यस दफा बमोजिम बदर गराउन सकिने करारका हकमा देहायका कुरामा देहाय बमोजिम हुनेछ :–
(क) करार गराइएको पक्षले करारलाई बदर नगराई त्यस्तो करार हुनु अघि निजको स्थिति जस्तो हुन्थ्यो त्यस्तो बमोजिम गराई माग्न सक्ने,
(ख) कसैले आफ्नो प्रभावमा रहेको र आफ्नो इच्छा अनुसार काम गराउन सक्ने व्यक्तिसँग करार गरेकोमा त्यस्तो करार अनुचित प्रभावबाट गरिएको होइन भनी प्रमाणित गर्ने भार त्यसरी अनुचित प्रभाव पारेको होइन भन्ने पक्षमाथि रहने ।
(४) बदर गराउन सकिने करार बदर हुनुभन्दा अघिसम्म कानून बमोजिमको करार सरह नै कार्यान्वयन हुनेछ ।
(५) यस दफा बमोजिम बदर गराउन सकिने करार अदालतबाट बदर भएकोमा बदर हुनुभन्दा अघि त्यस्तो करार बमोजिम भए गरेको कामलाई असर पर्ने छैन ।
(६) यस दफा बमोजिम कुनै करार बदर भएकोमा त्यसरी बदर भएको कारणले मात्र निर्दाेष तेस्रो पक्षको कानूनसम्मत हक वा हितमा प्रतिकूल असर पर्ने छैन ।