दफा २६३
संयुक्त सम्पत्तिबाट आफ्नो भाग छुट्याई लिन सक्ने

(१) संयुक्त सम्पत्तिको कुनै स्वामित्ववालाले आफ्नो हक वा हिस्साको सम्पत्ति अन्य स्वामित्ववालासँग जहिलेसुकै छुट्टाई लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम संयुक्त सम्पत्ति छुट्याउँदा सबै स्वामित्ववालाको सहमति बमोजिम गर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संयुक्त सम्पत्ति छुट्याउँदा अन्य स्वामित्ववालालाई सारभूत रूपमा नोक्सान पर्ने भएमा वा संयुक्त सम्पत्तिको स्वरूप बिग्रने देखिएमा त्यस्तो सम्पत्ति छुट्याउन सकिनेछैन ।
(४) उपदफा (३) बमोजिमको अवस्था परी कुनै संयुक्त सम्पत्ति छुट्याउन नसकिने भएमा त्यस्तो सम्पत्तिका स्वामित्ववालाहरूले त्यस्तो सम्पत्ति बिक्री गरी प्राप्त रकम आफ्नो हक वा हिस्साको आधारमा आपसमा बाँडफाँट गरी लिनु दिनु गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम संयुक्त सम्पत्ति बिक्री नभएमा वा बिक्री गर्न सबै स्वामित्ववालाहरू मञ्जुर नभएमा र त्यस्तो सम्पत्ति कुनै स्वामित्ववालाले लिन चाहेमात्यस्तो स्वामित्ववालाले सोही अनुपातमा अन्य स्वामित्ववालालाई त्यस्तो सम्पत्तिको मूल्य भुक्तानी गरी त्यस्तो सम्पत्ति एकलौटी लिन सक्नेछ ।
(६) उपदफा (५) बमोजिम एकभन्दा बढी स्वामित्ववालाले संयुक्त सम्पत्ति लिन चाहेमा सबभन्दा बढी मूल्य तिर्न मञ्जुर गर्ने स्वामित्ववालाले त्यस्तो सम्पत्ति लिन पाउनेछ ।