दफा ६३
सम्पत्ति छुट्याउनु पर्ने

(१) यस परिच्छेद बमोजिम कुनै व्यक्तिको जायजेथाको दामासाही गर्नु गराउनु अघि देहायको सम्पत्ति छुट्याई बाँकी रहेको जायजेथाबाट दामासाहीको कारबाही गर्नु गराउनु पर्नेछ :–
(क) दामासाहीमा पर्न लागेको व्यक्ति बाहेक अन्य व्यक्तिको निजी सम्पत्तिको रूपमा रहेको कुनै सम्पत्ति,
(ख) दामासाहीमा पर्न लागेको व्यक्ति र निजको एकाघरका परिवारले लगाएको र लगाउने तीन जोरसम्मको कपडा तथा जुत्ता,
(ग) दामासाहीमा पर्न लागेको व्यक्तिको एकाघरका परिवारलाई आवश्यक खाना पकाउने तथा खाने एकसरो भाडा, थाल कचौरा, एकसरो ओड्ने ओछ्याउने तथा मनासिब सङ्ख्याका फर्निचर,
(घ) दामासाहीमा पर्न लागेको व्यक्ति र निजको एकाघरका परिवारको लागि दामासाहीको कारबाही प्रारम्भ हुनुभन्दा अगावै खरिद गरिसकेको औषधि तथा स्वास्थ्य सम्बन्धी उपकरण,
(ङ) पठन पाठन गर्न आवश्यक पुस्तक,
(च) खण्ड (ख) मा लेखिएका व्यक्तिलाई बढीमा तीन महिनासम्म जीवन निर्वाह गर्न आवश्यक खाद्यान्न,
(छ) खण्ड (ख) मा लेखिएको व्यक्तिको पेशा वा रोजगारसँग सम्बन्धित एकसरो ज्यावल वा औजार ।
(२) उपदफा (१) को खण्ड (ख), (ग), (घ), (ङ), (च) वा (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि ती खण्डहरूमा उल्लिखित सम्पत्तिको कूल मूल्य एक लाख रूपैयाँभन्दा बढी हुन सक्ने छैन ।