दफा २७९
सहमति नलिई अर्काको जग्गामा घर बनाउन नहुने

(१) कसैले पनि स्वामित्ववालाको लिखित सहमति नलिई निजको जग्गामा घर बनाउन सक्ने छैन ।
(२) कसैले स्वामित्ववालाको लिखित सहमति नलिई निजको जग्गामा घर बनाएमा जग्गाधनीले चाहेमा त्यस्तो घरको बजार मूल्यको पच्चीस प्रतिशतसम्म कम मूल्यमा त्यस्तो घर खरिद गर्न पाउनेछ ।
(३) उपदफा (२) बमोजिम जग्गाधनीले त्यस्तो घर खरिद गरी नलिएमा घरधनीले स्वामित्ववालाको मञ्जुर भएमा त्यस्तो घर भएको जग्गाको बजार मूल्यको पच्चीस प्रतिशतसम्म मूल्य थप गरी त्यस्तो जग्गा खरिद गर्न सक्नेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम घर वा जग्गा खरिद बिक्री गरी लिन दिन दुवै पक्ष मञ्जुरी नभएमा घर बनाउनेले त्यस्तोे घर बनाएको मितिले तीन महिनाभित्र घर भत्काई आफ्नो मालसामान लैजानु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको अवधिभित्र घर नभत्काएमा त्यस्तो घर जग्गाधनीको हुनेछ ।