Rule 70
निवृत्तिभरण
: (१) बीस वर्ष वा सोभन्दा बढी समयसम्म सशस्त्र प्रहरी सेवामा काम गरेको सशस्त्र प्रहरी कर्मचारीले नोकरीबाट अवकाश पाएको मितिदेखि निवृत्तिभरण पाउनेछ ।
तर मिति २०६०।१२।२६ गते अगावै नियुक्ति भएका देहाय बमोजिमका सशस्त्र प्रहरी कर्मचारीहरुले देहाय बमोजिम वा सो भन्दा बढी अवधिसम्म सशस्त्र प्रहरी सेवामा काम गरी नोकरीबाट अवकास भएमा निवृत्तिभरण पाउनेछ:–
(क)   सशस्त्र प्रहरी सहायक निरीक्षक देखि सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म – अठार बर्ष
(ख)   सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी वरिष्ठ हवल्दारसम्म                 – सोह्र बर्ष
(२) उपनियम (१) बमोजिम दिइने निवृत्तिभरणको हिसाव देहाय बमोजिम हुनेछ –
(क)   राजपत्राङ्कित सशस्त्र प्रहरी अधिकृतको निमित्तः–
नोकरी वर्ष X आखिरी तलव
५०
(ख)   राजपत्र अनङ्कित र श्रेणी विहिन सशस्त्र प्रहरी कर्मचारीको निमित्त –
नोकरी वर्ष X आखिरी तलव
४०
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तिभरणको न्यूनतम रकम समान पदको बहालवाला सशस्त्र प्रहरी कर्मचारीको तलव स्केलको शुरु अङ्कको आधाभन्दा कम र अधिकतम रकम समान पदको बहालवाला सशस्त्र प्रहरी कर्मचारीको तलवको शुरु स्केलभन्दा बढी हुने छैन ।
(४) पन्ध्र वर्ष सेवा अवधि पूरा गरेको कुनै सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा निवृत्तिभरणको लागि आवश्यक पर्ने सेवा अवधि पुर्‍याउन आवश्यक पर्ने अवधि थप गरी निजको परिवारलाई निवृत्तिभरण वा उपदान जुन लिन चाहन्छ सो रोजेर लिन दिइनेछ ।
(५) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सशस्त्र प्रहरी कर्मचारीले यस नियम बमोजिम निवृत्तिभरण पाउने छैन ।