Rule 125
Na
(१) (मन्त्रालयले वन सम्बन्धी कुनै अनुसन्धानात्मक कार्य गर्नको लागि राष्ट्रिय वनको कुनै भागलाई वन अनुसन्धान प्लट तोकी सोको संरक्षण र व्यवस्थापनको लागि वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रलाई त्यस्तो वनक्षेत्र प्रयोग गर्न दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम प्रयोग गर्न दिइएको वनक्षेत्रको संरक्षण र व्यवस्थापन गर्दा सम्बन्धित डिभिजन वन कार्यालयसँग समन्वय गर्नु पर्नेछ।

(३) मन्त्रालयले वन विषयसँग सम्बन्धित अध्ययन अनुसन्धान गर्ने प्रयोजनको लागि राष्ट्रिय वनको कुनै भाग स्वदेशी विश्वविद्यालयलाई प्रयोग गर्न दिन सक्नेछ। यसरी प्रयोग गर्न दिइएको वनक्षेत्र उपभोक्ता समूहद्वारा व्यवस्थित भएमा त्यस्तो उपभोक्ता समूहको सहमति लिनु पर्नेछ।

(४) उपनियम (३) बमोजिम प्रयोग गर्न दिइएको वनक्षेत्रमा हुने अध्ययन अनुसन्धान तथा सो क्षेत्रको संरक्षण र व्यवस्थापन डिभिजन वन: कार्यालय र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको समन्वयमा गर्नु पर्नेछ।

(५) अनुसन्धान प्रयोजनका लागि उपनियम (१) वा (३) बमोजिमको वनक्षेत्रको रुख कटान गर्नु पर्ने भएमा स्वीकृत अनुसन्धान प्रस्तावको आधारमा मन्त्रालयले रुख कटानको अनुमति दिन सक्नेछ।

(६) उपनियम (५) बमोजिम कटान गरिएका रुखको विवरण डिभिजन वन कार्यालयमा दिनु पर्नेछ र डिभिजन वन कार्यालयले:ऐन तथा यस नियमावली बमोजिम सोको व्यवस्थापन गरी प्राप्त रकम राजस्वमा जम्मा गर्नु पर्नेछ।